७ जेठ- भारत, नारायणपुर जिल्लाको अबुझमाड क्षेत्रमा भारतीय सुरक्षा बल र नक्सलवादीबीच भएको भीषण भिडन्तमा २६ जना नक्सलवादी मारिएका छन्। भिडन्तमा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
छत्तीसगढमा भएको मुठभेड अहिलेसम्मकै ठूलो नक्सलविरोधी अपरेसनका रूपमा लिइएको छ। यो ५० घण्टाभन्दा बढी समयदेखि अपरेसन जारी छ। डिस्ट्रिक्ट रिजर्भ गार्ड ९डीआरजी०का जवानहरूले बीजापुर, दन्तेवाडा, नारायणपुर र कोंडागाँव जिल्लाहरूको सिमानासँगै पर्ने बाक्ला जंगलमा संयुक्त रूपमा यो कारबाही गरेका हुन्।
सूचनाअनुसार अबुझमाडको गहिरो जंगलमा नक्सलवादीका शीर्ष नेताहरू घेरामा परेका थिए। सुरक्षा बलले घेरा कडा बनाएसँगै भिडन्त चर्किएको थियो, जसमा अन्ततः २६ जना नक्सलवादी मारिए। मृतकमध्ये धेरैजना उच्च तहका कमान्डर रहेको दाबी गरिएको छ ।
यस अपरेसनमा ठूलो सफलता भनेको एक करोड रूपैयाँ इनाम तोकिएको नक्सली कमाण्डर ‘राजु’ मारिने हो । राजु बस्तर क्षेत्रमा नक्सली गतिविधिको मास्टरमाइन्ड मानिन्थे । उनले सुरक्षाकर्मीहरूमाथि भएका धेरैजसो घातक हमलाहरूको योजना बनाएका थिए र दर्जनौं सुरक्षाकर्मीहरूको मृत्युको जिम्मेवार थिए ।
प्रतिक्रिया दिनुहोस्