पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा १९ को मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा भएको एउटा रेल दुर्घटनामा कम्तीमा १९ जनाको ज्यान गएको छ। कैयौँ मानिसहरू घाइते भएका छन्।

बीबीसी उर्दूका अनुसार यो दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको थियो।

आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए। घाइतेहरू त्यसमा फसिरहेका छन् र उनीहरूलाई निकाल्ने प्रयास जारी छ।

स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए।

दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीसँग भनेका छन्, “कैयौँ यात्रीहरू डिब्बाको मुन्तिर थिचिएका छन्। त्यसमध्ये कतिपयको अवस्थामा गम्भीर छ।”

रेलमन्त्री साद रफिकले लाहौरमा एउटा पत्रकार सम्मेलनमा भने, “रेल सही गतिमा गुडिरहेका थियो र उसको स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको थियो।”

यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो।

ठूलो सङ्ख्यामा स्थानीयवासिन्दाहरू घटनास्थलमा पुगेका छन्। उनीहरूले यात्रुहरूलाई बाहिर निकाल्न सहयोग गरिरहेका छन्।

कराँचीभन्दा करिब २७५ किलोमिटर पर हजारा एक्सप्रेसको सो रेल दुर्घटनाग्रस्त भएको थियो।

उक्त रेल कराँचीबाट एबटाबादतर्फ गइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्