अन्तर्वार्ता समाज

नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने प्रधानमन्त्री प्रचण्ड को भनाई

नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने प्रधानमन्त्री  प्रचण्ड को भनाई

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ ।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीका विषयमा पनि कुराकानी भएको छ ।

उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरुबाट खुलेको थियो ।

यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । त्यस क्रममा उनले पटक पटक मन्त्री भइसकेको र सांसद भइसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नुनपर्ने आपत्ति जनाएका थिए ।

ओलीसँग भेटपछि प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताए । ‘‘रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुनस् निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…