२४ फागुन -काठमाडौं, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका शीर्ष पदाधिकारीहरू सबै पराजित भएका छन्। पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा सर्लाही–४ बाट रास्वपाका अमरेशकुमार सिंहसँग ३५,६८८ मतका साथ पराजित भए, जहाँ थापाले २२,८३१ मत पाए। उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने चुनावमा उम्मेदवार थिएनन्।
महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलसँग पराजित भए। पोखरेलले ३०,७३७ मत ल्याउँदा पौडेल ९,१५९ मतमै सीमित भए। अर्का महामन्त्री गुरूराज घिमिरे मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीसँग पराजित भए, जहाँ राजवंशीले ४०,८३३ मत र घिमिरेले १२,८१८ मत पाए।

सहमहामन्त्रीहरू पनि चुनाव हार्न पुगे। उदयशम्शेर राणा ललितपुर–१ मा रास्वपाका बुद्धरत्न महर्जनसँग (२३,३७३ मत) पराजित भए, जहाँ राणाले १३,५२० मत पाए। बारा–३ मा फरमुल्लाह मन्सुर रास्वपाका अरबिन्द साहसँग पराजित भएस साहले ४०,६९७ मत ल्याउँदा मन्सुरले १०,०५२ मत पाए। कास्की–३ मा प्रकाश रसाइली स्नेही एमालेका ऐनबहादुर महरसँग पराजित भए। महरले १८,५४३ मत ल्याउँदा स्नेही १६,३०४ मतमै रोकिए।
डोल्पामा सहमहामन्त्री कर्णबहादुर बुढा नेकपाका धनबहादुर बुढासँग पराजित भए। धनबहादुरले ६,८०२ मत ल्याउँदा कर्णबहादुरले २,९४७ मत पाए। दाङ–१ मा सहमहामन्त्री योगेन्द्र चौधरी पनि रास्वपाका देवराज पाठकसँग पराजित भए। पाठक ४२,६०२ मतसहित विजयी हुँदा चौधरी १५,२८० मतमै सीमित भए।
यस निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ कुल १७ सिट जितेको छ। कोशी प्रदेशमा पाँचथरबाट नरेन्द्रकुमार केरूङ, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाशसिंह कार्की विजयी भए। मधेस प्रदेशमा रौतहट–२ बाट मो. फिरदोश आलमले एक मात्र सिट जिते। बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य विजयी भए।
गण्डकी प्रदेशमा मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकालीले जिते। लुम्बिनी प्रदेशमा पाल्पा–१ बाट सन्दीप राना र कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह निर्वाचित भए। कर्णाली प्रदेशमा हुम्लाबाट जयपती रोकाया, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेखबाट बासना थापा, सुर्खेत–१ बाट विष्णुबहादुर खड्का र मुगुबाट खड्ग शाही विजयी भए। सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछाम–१ बाट भरतकुमार स्वार र डोटीबाट भरतबहादुर खड्का निर्वाचित भएका छन्।
कांग्रेसबाट प्रत्यक्षतर्फ विजयी हुनेमध्ये बासना थापा मात्रै महिला उम्मेदवार हुन्।
प्रतिक्रिया दिनुहोस्