७ साउन- अस्ट्रेलिया, एडलेडमा २३ वर्षीय भारतीय विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।
गत शनिवार चरणप्रीत सिंह र उनकी पत्नीले एडलेडको मध्यभागमा रहेको किनटोर एभेन्युमा गाडी रोकेका थिए । उनीहरूको गाडीपछाडि अर्को एक गाडी आयो र त्यसबाट पाँचजना निस्किए । तीमध्ये कतिपयले धारिलो हतियार बोकेका थिए । उनीहरूले सिंहलाई गाडी हटाउन भने ।
त्यसपछि अचानक उनीहरूले सिंहमाथि जातिवादी गालीगलौज गर्दै कुटपिट गर्न थाले । ‘भारतीय, घर फर्की’ भन्दै उनीहरूले सिंहलाई धारिलो हतियारका साथै मुक्काले पनि प्रहार गरेका थिए ।
सिंहलाई तत्कालै रायल एडलेड अस्पताल लगिएको थियो । त्यहाँ उनको मस्तिष्कमा चोट लागेको, अनुहारको हड्डी भाँचिएको, नाक भाँचिएको र आँखामा गम्भीर चोटपटक लागेको पाइएको छ । उनको राति नै अस्पतालमै शल्यक्रिया गरिएको थियो ।
स्थानीय प्रहरीले घटनास्थलमा लडिरहेका सिंहलाई अस्पताल पुगाएको थियो ।
आइतवार प्रहरीले एनफिल्ड भन्ने ठाउँबाट २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको थियो । उनलाई क्षति पुर्याउने उद्देश्यले आक्रमण गरेको आरोप लगाइएको छ । पछि धरौटीमा उनलाई रिहा गरिएको थियो । अन्य चार आक्रमणकारीलाई प्रहरीले खोजी गरिरहेको छ ।
अहिले यस घटनाका कारण अस्ट्रेलियामा रहेका भारतीय विद्यार्थीहरूमा त्रास छाएको छ ।
प्रतिक्रिया दिनुहोस्