२२ असार- दार्चुला, नेपालबाट छाङरु र टिङ्कर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीयहरु भारतको बाटो प्रयोग गर्न बाध्य रहेका छन्।
छाङरु र टिङ्करमा करिब दुई सय घरपरिवारको बसोबास छ । व्यासवासीहरु कुन्जा जाँदा भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यो हट्ने देखेर स्थानीय खुसी छन्। अब नेपालकै बाटो भएर आउजाउ गर्न पाइने सम्भावना बढेको छ। पैसा तिरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने व्यासवासीको बाध्यता अन्त्य गर्न बाटो निर्माण तीव्र रूपमा अगाडि बढेको छ।
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोडेटो बाटोको काम तीव्र गतिमा भइरहेको छ। व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्म निर्माणाधीन घोडेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ। देशकै दुर्गम छाङरु र टिङ्करगाउँ तथा आसपासको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्यले जेठबाट निर्माण सुरु गरिएको सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।
महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले दिनभर काम गरिरहेको काममा खटिएका छन। सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भिर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको र एकरदुई दिनमै पूर्ण रूपमा बाटो बन्ने छ । छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि सङ्घीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट दिएको थियो।
प्राप्त बजेटसँग थप श्रम अभियान जोडेर वैशाखमा कुन्जा सर्नुभन्दा पहिले नै सो बाटो खुलाउने प्रयास गरिएको भए पनि कानुनी अड्चन आउन सक्ने भन्दै सोही बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण कार्य भइरहेको छ। हालसम्म माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेलगायतका क्षेत्रमा काम पूरा भएको छ भने दोपखेभन्दा तलका केही स्थानमा निर्माण कार्य जारी रहेको छ।
गाउँपालिका र मिसन–देवहरि जेभीबिच पाँच करोड छ लाख नौ हजार ९९४ रुपियाँमा सम्झौता भएको छ। जोखिमपूर्ण बाटोमा आसलाग्दो ढङ्गले काम भइरहेको भन्दै गाउँबाटै सदरमुकाम आवतजावत गर्न पाइनेमा व्यासवासी आशावादी बनेका छन।
प्रतिक्रिया दिनुहोस्