सुधारगृहका युवक मृत्यु प्रकरणः १२ जना जेल चलान

२९ जेष्ठ- कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो।

सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन्।

घटनाको नालीबेली
घोडाघोडी नगरपालिका–४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षीय सुनील मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्युभएको खुलेको छ। शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राति भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भित्र लगेर, सुधारगृहमा रहेका ४/५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको थियो।
यस्तो थियो पक्राउ परेकाहरुले प्रारम्भीक बयान

बैशाख २५ गते बेलुकीको समग थियो। सुधारगृहमा खाना खाने समय भइरहेको थियो। सुधारकेन्द्रमा राखिएका १४ जना युवाहरु र सुधारकेन्द्रका कर्मचारीहरु खाना खाने तयारीमा थिए। सुनील शाहीलाई सुधारकेन्द्रको खाना मन परिरहेको थिएन। उनले आफु सुधारकेन्द्रमा नबस्ने र घर जाने भन्दै भाग्न खोजे।

उनी कराउदै थिए, तर समात्न गएकाहरुले उनको अण्डकोषको चोटप्रति खासै वास्ता गरेनन। पर्खालबाट तानेर उनलाई सुधारकेन्द्रको कोठामा पुगाइयो। उनलाई ४/५ जनाले कोठामै बेस्सरी कुटे। उनको छाती, घाँटी र पिठ्यु सहित गोप्यअंगहरुमा पनि घाउ देखिएका छन। उनको शवमा देखिएका घाउ भएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन। सार्वजनिक भएका तस्बिरहरु हेर्दा उनको मलद्वारमा पनि गहिरो चोट देखिन्छ।
छतबाट लडेको नक्कली योजना
सुनीलको राति २ बजे मृत्यु भइसक्छ। त्यहाँ रहेका कर्मचारीहरुले सञ्चालक मध्येका एकजना, बल खत्रीलाई राती २ बजे फोन गर्छन। बल खत्री त्यहाँका सबै युवकहरु र कर्मचारीलाई छतबाट हाम फालेको बयान दिने भन्दै अस्पताल लैजान अह्राउछन। राति २ बजे ज्यान गुमाइसकेका सुनीललाई मरिसकेपछि, छतबाट हामफालेको भन्दै घोडाघोडी अस्पताल पुगाइन्छ। अस्पताल पुगेका बल खत्री सबैलाई छतबाट खसेको भनेर बयान गर्न सिकाउछन।
राति नै अस्पताल पुगाएको भए बाच्न सक्थे
प्रहरी भन्छ, ‘लागुपदार्थको सुधार गृहमा कोही पनि परिपक्व मान्छे देखिएन। कुटपिट भयो भने छुटाउने मान्छे भएन। कुटपिट भइहालेको थियो भने पनि घाइते अवस्थामा अस्पताल पुगाइएन। सुनीललाई घाइते पारेर मर्नका लागि उनको कोठामा छोडेको जस्तो देखिन्छ।’ प्रहरीले घटनामा सञ्चालक पक्षको चरम लापरवाही देखिएको निस्कर्ष निकालेको छ।

-दिनेश खबर

प्रतिक्रिया दिनुहोस्