देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ

कार्तिक १३-सिरहा, धनगढीमाई नगरपालिका-१३ बाबुराम खोलाबाट अवैध लागूऔषध गाँजा करिब १३ केजीसहित सोही नगरपालिका-१४ बस्ने ५० वर्षीय पदम बहादुर बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको गस्ती टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैसाखा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-६ ढक्काचाँदर बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ४३२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका-१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित राक्सिराङ गाउँपालिका-१ घर भएका १९ वर्षीय सबिन स्याङबोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ७७८१ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार स्याङबोलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ शान्ती टोल बस्ने ४७ वर्षिय ऋषि राम कँडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्