टीकापुर नगरपालिका सहित छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

कार्तिक १२-सर्लाही, कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने  २४ वर्षीय भाग्यनारायण महतो समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका- ७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका            छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा नौगछियाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका-५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-२ गौनियाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित  सोही नगरपालिका-१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको   हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, विजयनगर गाउँपालिका-२ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने २३ वर्षीय बिजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । तेलीले लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्