गाली गरेको विषयमा झडप हुँदा दैलेखमा १ जनाको मृत्यु

कार्तिक १०-दैलेख, युवाहरूबीच झडप हुँदा दैलेखमा एक जनाकाे ज्यान गएकाे छ । बिहीवार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको वीन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

झडपमा घाइते भएका क्षेत्रीकाे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल आचार्यले जानकारी दिनुभयो ।

सैनचौरमा रहेकाे ससुराली गएका मृतक क्षेत्री र उहाँका जेठान सुमन शाहीले सिलङ्गी बजारमा मोटरसाइकल गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाहरूसँग विवाद भएकाे र पछि झडप भएकाे स्थानीयले बताएका छन् । गालीगलाैज किन गरेकाे भनी स्थानीयले सम्झाउन खाेज्दा झडप भएकाे स्थानीय शान्ति रिजालले बताउनुभयाे ।

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको माेटरसाइकल बरामद गरेकाे छ । झडपमा संलग्नहरूको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्