पोखरामा मोटरबाइक रेस हुने

कात्तिक ३-पोखरा,  पोखरामा मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । मोटर स्पोर्टस् संस्था (नासा) सँग आवद्ध भिआर–४६ मोटर स्पोर्टस् प्रालिले आगामी ८ र ९ मंसिरमा पोखरामा सो रेस गर्न लागेको हो ।

इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको भिआर–४६ मोटर स्पोर्टस्का प्रबन्ध निर्देशक माइकल थापाले प्रतियोगितामा करिब १ सयभन्दा बढी प्रतियोगीले भाग लिने छन् ।

पोखरा रंगशालाको कालोपत्रे सडकमा हुने यो प्रतियोगिता नेपालकै पहिलो ठूलो बाइक रेस भएको उनको दाबी छ । यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । उनले भने, ‘अब पोखरा हिमाल र तालले मात्रै चिनिने छैन साहासिक खेलकुदको उत्कृष्ट खेलमध्यको एक बाइक रेसले पनि विश्वमा चिनिने छ ।’

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषय समेत भएकोले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको थापाले बताए ।

गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोश्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले बताए । संस्थाले विगतमा रोड सेफ्टीका विषयमा समेत धेरै युवालाई प्रशिक्षण प्रदान गरेको उनले जनाए ।

प्रथम, दोस्रो र तेस्रोले क्रमशः १ लाख, ७५ हजार र ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसको अवसर मिल्नेछ । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने आयोजकको अनुमान छ । यो रेस हेर्न टिकट काट्नुपर्नेछ । साधारणतर्फ २ सय र भिआइपीतर्फ १ देखि ५ हजारसम्मको टिकट बिक्री गरिने तयारी छ ।

प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरी दुई प्रकारका बाइक प्रयोग हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्