साढे १७ सय मानिस इजरेल–हमास युद्धमा मारिए

असोज २४- प्यालेस्टिनी समूह हमास र इजरेलबीचको युद्धमा परी अहिलेसम्म १७ सय ३० जनाको मृत्यु भइसकेको छ । इजरेलको आई २४ न्युजका अनुसार गत शनिबारदेखि शुरु भएको युद्धमा इजरेलमा मात्रै ९०० जनाको मृत्यु भएको छ । जसमा ४० जना नवजात बच्चासमेत हुन् ।

२३ सय मानिस घाइते भएका छन् । त्यस्तै गाजापट्टीमा १४० बालबालिकासहित ८३० जनाको मृत्यु भइसकेको छ । जसमा १२० जना महिला पनि हुन् ।

त्यसैगरी ३ हजार ७२६ जना घाइते भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन सम्पर्क गरेर युद्धको अवस्थाबारे बुझेका छन् ।

त्यसपछि बाइडेनले मंगलबार राति अबेर ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिका इजरेलको साथमा रहेको बताए । उनले इजरेलमा एक हजार जनाको नृशंस हत्या गराएको पनि बताएका छन् ।

जसमा १४ अमेरिकी नागरिक पनि मारिएका छन् । इजरेलसँग साथ रहेको देखाउन अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिङ्केन आज इजरेल जाँदैछन् ।

त्यस्तै प्रधानमन्त्री नेतान्याहूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी युद्धबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्