बुहारीले आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ

असोज २१-सल्यान, घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुन: विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुन: सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्