उपचारका क्रममा शिशुको मृत्यु

असोज २१-ओखलढुङ्गा, ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)मा उपचारको क्रममा एक शिशुको मृत्यु भएपछि अस्पतालमा तनावको अवस्था आएको छ। ५३ दिने शिशुको उपचारका क्रममा मृत्युभएपछि शनिबार दिनभर अस्पतालमा आफन्तले विरोध जनाएका हुन्।

सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९:४५ बजे अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार पिसाब रोकिएर गम्भीर अवस्थामा पुगेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।

तर आफन्तले भने उपचारका क्रममा त्रुटी भएको आरोप लगाउँदै छानबिन गर्दै कारबाहीको माग गरेका छन्। मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेका छन्।

आफन्तले विरोध जनाएपछि अस्पतालले आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पष्टीकरण सोधिएको छ।

आफन्तले आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीले सामान्य चेकजाँच समेत नगरी ओपिडी तर्फ पठाएको आरोप लगाएपछि अस्पतालले कटुवालसँग लिखित स्पष्टीकरण सोधेको हो। अस्पतालले उक्त घटनाका विषयमा छानबिन गर्न आन्तरिक छानबिन समिति बनाएको छ। सोही समितिले कटुवाललाई किन कारबाही नगर्ने? भन्दै लिखित स्पष्टीकरण सोधेको हो।

अस्पतालमा कार्यरत डा जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानबिन व्यवस्थापन समितिको गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए।

मृतकका आफन्तका अनुसार सुरुमा आकस्मिक कक्षमा लगिएको बिरामीलाई स्वास्थ्यकर्मीले चेकजाँच नै नगरी बहिरंग विभागमा पठाएको र उक्त विभागमा लामो समय लाइनमा बसेर चेक जाँच गर्ने क्रममा पुन: आक्समिक कक्षमै लगेर उपचार गर्न भनिएको थियो। ‘ओपिडीमा लामो लाइन बसेर मुस्किलले पालो आएको थियो। फेरि आकस्मिक कक्षमा नै लैजानु भनेपछि दौडाएर लग्यौं। त्यहाँ पुग्दा श्वासप्रश्वासमा समस्या आइसकेको थियो। गम्भीर छ भन्दाभन्दै ज्यान नै गयो। सुरुमै चेकजाँच नगरेकाले मृत्यु भएकाले घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको माग गरेका हौं,’ एक आफन्तले भने।

प्रतिक्रिया दिनुहोस्