टीकापुर र दार्चुलाबाट अवैध लागूऔषधसहित पक्राउ

असोज १७-दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी १ सय ग्राम, नगद ९ हजार रूपैयाँ, तराजु १ थान र ढक ५ थानसहित २ जनालाई  बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मार्मा गाउँपालिका-१ घोल्जर बस्ने २० वर्षीय सहदेव सिंह ठगुन्ना र सोही गाउँपालिका-१ ताकु बस्ने २८ वर्षीय बिर्ख सिंह ठगुन्ना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले सो ठाउँमा शंकास्पद रुपले हिँडिरहेका उनीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-१ व्यवसाय क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय मिलिग्रासहित जानकी गाउँपालिका-९ मुर्तिया बस्ने २८ वर्षीय ललित सिंह बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटा खुनाटोल बस्ने २५ वर्षीय हरि कुमार खुनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्