नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा

असोज १०-काठमाडौं, लागूऔषध नियन्त्रण व्यूरो तथा औषधी ब्यवस्था बिभागको संयुक्त रुपमा खटिएको टोलीले काठमाडौं उपत्यकाका बिभिन्न मेडिकल स्टोरहरुमा चेक जाँच गर्ने क्रममा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ स्थित सर्लाही कौडिना गाउँपालिका-४ बस्ने २८ वर्षीय सुशिल कुमार पटेलले संचालन गर्दै आएको रस्मी मेडिकलहलबाट नियन्त्रित औषधी जुबलिन १ सय ट्याब्लेट, स्पास्पेन ७ सय ७४ ट्याब्लेट, टेनोड २ सय ट्याब्लेट र ट्यापेन्टा २ सय ट्याब्लेट र प्रोमेथाजिन ३ सय ट्याब्लेट बरामद गरी उक्त नियन्त्रित औषधीहरु र संचालकलाई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाएको छ । साथै ललितपुर महालक्ष्मी नगरपालिका-५ स्थित धनुषा लक्ष्मीया गाउँपालिका-१ बस्ने ३५ वर्षीय जितेन्द्र कुमार यादवले संचालन गर्दै आएको श्रेया हेल्थ केयरबाट नियन्त्रित औषधी पेकोलिक ६ सय ३६ ट्याब्लेट, प्यान्डोल ३५ ट्याब्लेट, प्रेगाबालिन १० ट्याब्लेट, टापेन्डोल १६ ट्याब्लेट,  भोमी १ सय ६५ ट्याब्लेटसहित संचालक यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाइएको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४५ ट्याब्लेट र स्पास क्यापसुल १२ पिससहित तनहुँ देवघाट नगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ख ९०३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्