सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ आज

असोज ७-काठमाडौं, नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइको पेसी आइतबारका लागि तोकिएको छ।

यसअघि पटक-पटक पेशीमा चढे पनि विभिन्न कारणले स्थगित हुँदै आएको मुद्दामा आज पनि अन्तिम सुनुवाइ होला भन्नेमा अन्यौलता रहेको छ।

यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन। पहिलो पटक गत ११ वैशाखमा सर्वोच्चको आदेशअनुरूप अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन भयो भने मुद्दा फेरि लम्बियो।

पछिल्लो पटक गत २१ भदौमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभरि वहस गरे तर उनले अन्तिममा मुद्दालाई निरन्तरता दिइनन्। उनले अन्तिममा मुद्दालाई हेर्दाहेर्दैमा निरन्तरता नदिएर बसाइसराइँ कागज प्रमाणीकरण गर्न आदेश दिएकी थिइन्।

त्यसपछि १ असोजका लागि सन्दीपको मुद्दा पेसी तोकिएपनि गोलप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भयो। तर न्यायाधीश घिमिरे बिदामा भएका कारण उनको मुद्दामा पेशीमै नचढी स्थगित भयो।

प्रतिक्रिया दिनुहोस्