नक्कली मह बनाउने भारतीय नागरिक पक्राउ

भदौ २४-धनगढी,  चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी  बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका –२ स्थित रमेशकुमार सैजुको कच्ची टहरामा नक्कली मह बनाउँदैगरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित जिल्ला बस्ती पोओ, देवापार थाना नगरग्राम बकसरका ३० वर्षीय जुमाइदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी कच्ची टहरा भाडामा लिएर बस्दै आएका थिए ।

अन्सारीले अखाद्य वस्तु मिसाएर नक्कली मह बनाइ बिक्री गर्नेगरेको गोप्य सूचनाको आधारमा प्रहरीसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त टोलीले उनी बसेको घरमा छापा मारेको थियो ।

त्यहाँबाट प्लाष्टिक गेलेनमा प्याक, राखेको महजस्तो देखिने पगालेको चिनीको रस ४०० केजी, बिना महको माहुरीको चाका पाँच केजी, कुट दुई केजी बरामद गरेको छ । यसैगरी, कडाई एक थान, ५० केजी चिनी र खाने, पिउने वा सेवन गर्न नहुने निर्धारित स्तरभन्दा निम्नस्तरको मिसावटयुक्त खाद्य पदार्थ फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार रमेश नाथले जानकारी दिनुभयो ।

नक्कली मह बनाएर बिक्री गर्दैआएका अन्सारीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बरामद सामानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्