बालेन्द्र शाहद्वारा चीन भ्रमण रद्द, बुच्चे नक्सा स्वीकार छैन

भदौ १४-काठमाण्डौ, चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गर्नुभएको छ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर बालेन्द्र शाहको भनाइ छ ।

 

चीनको कदमको विरोधमा आज बिहीवारदेखि हुने भनिएको पाँच दिने चीन भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ । नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

बालेन शाहले भनेका छनः

हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

प्रतिक्रिया दिनुहोस्