सर्लाहीको भगवतीपुर बजारमा युवक मृत फेला

भदौ १०-सर्लाही , नेपाल–भारत सीमानजिक पर्ने सर्लाहीको गोडैता नगरपालिका–३ भगवतीपुर बजारमा आइतबार साँझ एक युवक मृत फेला परेका छन् ।

विष्णु गाउँपालिका–५ का ४५ वर्षीय फेकन पण्डित भगवतीपुर बजारस्थित बरको रुखमुनि मृत फेला परेका हुन् । मृतक पण्डितले साइकलमा लत्ताकपडा राखेर गाउँघरमा बेच्ने काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार घरबाट साइकलमा लत्ताकपडा लिएर हिँडेका पण्डित साँझ असहज भएपछि उनैले परिवारलाई जानकारी दिएका थिए । त्यसपछि उनी भगवतीपुरमा रहेको बजारमा बाँसको खाटमा पल्टेका थिए । लगत्तै उनको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनास्थल नजिकबाट उनी चढ्ने साइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्