नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा एक महिला पक्राउ

भदौ ८-नक्कली सुनका गरगहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसी खड्कालाई  पक्राउ गरिएको हो। खड्काले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा आफूलाई पैसा आवश्यक परेकाले आफूसँग भएका गरगहाना दिएर सोही ठाउँका सूर्यबहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको प्रहरीले बताएको छ।

मिनाले फेरि पनि पैसा आवश्यक परेकोले थप गरगहना राखेर दुई लाख रुपैयाँ दिन भन्दै २०७९ फागुनमा सूर्यसँग पैसा मागेकी थिइन्। फेरि पनि गहना दिएर पैसा सापटी लिन खोजेपछि सूर्यले गरगहना सुनका नहुन सक्ने अनुमान गर्दै सुनचाँदी पसलमा जाँच गराएका थिए। १८ लाख रुपैयाँ दिने वेलासम्मका गहनासहित थप दुई लाख रुपैयाँ माग्ने वेलाका गहनासमेत नक्कली भएको पाएपछि सूर्यले जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका थिए।

त्यसैको आधारमा मिनालाई गत भदौ छ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बागलुङ जिल्ला अदालतबाट  चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

प्रतिक्रिया दिनुहोस्