SEE मा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था

असार १८-काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने शर्माले बताउनुभयो । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उहाँले अर्को वर्षदेखि एसईईमा पनि नयाँ व्यवस्था लागू हुने जानकारी दिनुभयो ।

एसईईकाे नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि भाेलि बुधवार बोर्ड बैठक डाकिएको छ । सकेसम्म बिहीवार यदि प्राविधिक कारण नसकेमा शुक्रवार नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताउनुभयो । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गएकाे चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

 

स्रोतः उज्यालो

प्रतिक्रिया दिनुहोस्