भारतमा रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु, ९०० भन्दा बढी यात्रु घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ ।

हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

त्यस्तै, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 

स्रोतःअनलाइन खबर

प्रतिक्रिया दिनुहोस्