विद्यार्थीहरुबीच नै आन्तरिक विवाद -स्ववियु निर्वाचन

काठमाडौं, ५ चैत्र / एक दशकभन्दा बढी समयसम्म अबरुद्ध रहेको विद्यार्थीहरुको राजनीतिक संगठन स्वन्त्र विद्यार्थी युनियनको निर्वाचन आईतवारदेखि शुरु भएको छ । स्ववियु निर्वाचनको मत परिणाम समेत आउन थालेपनि कतिपय क्याम्पसहरुमा निर्वाचन अवरुद्ध भएर अर्को मिति समेत तोकिएको छैन ।
काठमाडौंका आधाभन्दा कम क्याम्पसहरुमा मात्रै निर्वाचन सम्पन्न भएको खबरहरु आईरहेका छन् । त्यस्तै १७ वटा क्याम्पस रहेको चितवनमा २ वटामा मात्रै निर्वाचन सम्पन्न गरिएको र बाँकी सबै क्याम्पहरुमा निर्वाचन रोकिएको छ । चितवनका धेरै मतदाता विद्यार्थीहरु भएका क्याम्पसहरुमा विद्यार्थीहरुले तालाबन्दी गर्ने तथा निर्वाचन विथोल्ने विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेकाले निर्वाचन रोक्नु परेको क्याम्पसका अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यस्तै पोखराका क्याम्पसहरुमा समेत स्वतन्त्र विद्यार्थी युनिएनको निर्वाचन अबरुद्ध भएको छ । पोखराका कुनै पनि क्याम्पसहरुमा स्ववियुको निर्वाचन हुन सकेको छैन । धेरै विद्यार्थीहरु पठनपाठन गर्ने क्याम्पसहरु रहेको पोखरामा विद्यार्थीहरुबीच नै आन्तरिक विवाद बढेसँगै स्ववियु निर्वाचनको प्रकृया अबरुद्ध भएको क्याम्पसका अधिकारीहरु बताउँछन् ।
त्यसैगरी दाङका क्याम्पसहरुमा कुनै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गरिए पनि कुनै क्याम्पसहरुमा निर्वाचन स्थगित गरिएको छ । विद्यार्थीहरुले आन्दोलन गरेर तालाबन्दी नै गरेपछि दाङका ४ वटा क्याम्पसहरुमा निर्वाचन हुन नसेकेको त्यहाँका प्रतिनिधिले जनाएका छन् ।
चुनावी प्रकृयामा असहजता भएर क्याम्पस प्रशासनले निर्वाचन स्थगन गरेपछि पश्चिम नवलपरासीको सुनवलस्थित महाकवी देवकोटा क्याम्पसका विद्यार्थीहरुले स्ववियु निर्वाचनको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरुपमा प्रदर्शन गर्दै क्याम्पस प्रमुखको पुत्ला समेत जलाए ।
यसैबीच यो समाचार तयार पार्दासम्म धादिङ्मा निर्वाचनको परिमाण समेत सार्वजनिक गरिएको छ । प्राप्त पछिल्लो जानकारीअनुसार धादिङका २ क्याम्पसमा नेकपा माओवादी निकट विद्यार्थी संगठन विजयी भएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल नै विजयी भएको हो ।
अर्को मलेखुमा रहेको जय बागेश्वरी बहुमुखी क्याम्पसमा पनि नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी धादिङकै गुजरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु र नेविसंघको गठबन्धनविरुद्ध अखिल क्रान्तिकारीका गणेश पाण्डे विजयी भएका छन् ।

-ततोखबर-बाट-साभार

प्रतिक्रिया दिनुहोस्