प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादीको केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय कार्यालय पेरिसडाँडाँमा ७ चैतदेखि सुरु भएको ‘ केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ ११ चैतसम्म चल्नेछ ।

यो कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको माओवादी केन्द्रका उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका संयोजक गिरिराजमणि पोखरेल बताए। प्रशिक्षणमा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २ २ जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरू र केन्द्रीय स्कुल विभागका सदस्यहरू सहभागी छन् ।

‘सामान्यतः आधारभूत शिक्षा लिइसक्नुभएको छ । अब हामी मध्यमस्तरीय पढाइ हुँदै अगाडि जान खोजिराखेका छौँ,’ पोखरेलले भने, प्रशिक्षकहरू उत्पादन गर्ने कार्यक्रम हो ।’

माओवादी केन्द्रका शीर्ष नेता तथा विषयविज्ञहरूले प्रशिक्षण दिने पोखरेलले जानकारी दिए । स्कुल विभागले तय गरेअनुरूपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरूलाई दिइने उनको भनाइ छ ।

‘कम्युनिस्ट आन्दोलन भनेको विचारधारात्मक आन्दोलन हो । आज नेपालमा कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी विचारहरू बोलवाला हुँदै गएका छन् । विर्सजनवादी विचारहरू देखा पर्दै गएका छन्, पोखरेलले भने, त्यसको एउटा कारण चाहिँ हामीले विचारधारात्मक कामहरूलाई छोड्यौँ ।’

पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस्ता प्रशिक्षण आवश्यक परेको बताए । ‘हामीले महशुस गरेको कुराचाहिँ हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएको छ । हिजो एउटा समयमा हामी स्कुलिङको कामलाई, विचारधाराको कामलाई धेरै ठूलो महत्व दिन्थ्यौँ, पोखरेलले भने, ‘अहिले १५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको ।’

‘प्रशिक्षणमार्फत आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने तथा कार्यकर्ताहरूलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको उनको भनाइ छ । विचार रिचार्ज गरिराख्नु पर्छ अनि मात्र मान्छे सशक्त हुन्छ । आफूलाई मजबुद बनाउँदछ,’ पोखरेलले भने, ‘हामीले आलोचनात्मक चेत भएको मान्छे पनि बनाउन खोजेका हौँ । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौँ ।’

केन्द्रीय सदस्य कुमार पौडेल भने पार्टीका नेता, कार्यकर्ताहरूलाई वैचारिक रूपमा अध्ययन गराउन प्रशिक्षण आवश्यक भएको बताउँछन् । पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरू जनता र कार्यकर्तामा एकरूपताका साथ लैजान प्रशिक्षण चाहिने उनको भनाइ छ ।

‘विचारबिनाको आन्दोलन बन्दैन । पार्टी बन्दैन । विचारबिना समाजलाई गाइड गर्न सकिँदैन । जब कार्यकर्ता वैचारिक रूपमा भुत्ते हुन्छन् त्यो कार्यकर्ताले समाज र देशको नेतृत्व गर्न सक्दैन, पार्टीको नेतृत्व गर्न सक्दैन,’ पौडेलले भने, ‘पार्टीका नेता र कार्यकर्तालाई वैचारिक रूपमा निरन्तर अध्ययन गराउने, स्कुलिङहरू चलाउने र प्रशिक्षित गरिराख्न प्रशिक्षणको जरुरी छ ।’

केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने जानकारी दिए । त्यस्तै, विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उनको भनाइ छ ।

-बागमति समाचार बाट साभार

प्रतिक्रिया दिनुहोस्