झोलाबिनाको जिन्दगी!

जब म चार वर्षको थिएँ, त्यति बेलादेखि नै गाउँमा धनीका छोराछोरीले झोला बोकेर बोर्डिङ स्कुलमा गएको देख्दा मलाई पनि रहर लाग्थ्यो। सरकारी स्कुलमा पढेको मसहित चार जना साथी एकदिन बोर्डिङमा के-कसरी पढाइ हुन्छ भन्ने हेर्न जाने निधो गर्‍यौँ र गयौँ।

हामी गरिब परिवारको भएकाले हामीसँग झोला थिएन। बोर्डिङ स्कुलको गार्डले त हामीलाई मूल द्वारमै रोक्नुभयो। हामी चार जनालाई उहाँले बिना कारण किन रोकेको भनेर मैले सोध्दै गर्दा मेरो एउटा साथीले ‘हामी नयाँ विद्यार्थी हौँ, भोलि एड्मिसन गराउँछौँ आज एक दिन हामीलाई पढन जान दिनू’ भनेर अनुरोध गर्यो।

यो कुरा सुनेर गार्ड दाइले मुसुमुसु हाँस्दै भने- ‘बाबु, यहाँ भर्ना नभई पनि तिमीले ४/५ दिनसम्म पढ्न पाउछौँ तर बिना झोला तिमीहरू भित्र पस्न पाउँदैनौ।’

मेरो आर्थिक अवस्था यति कमजोर थियो कि मैले मभन्दा तीन कक्षा माथिको दिदीको जतन गरेर राखेको किताब पढ्थेँ। त्यतिबेला सरकारी विद्यालयमा पढने प्रायः सबैको यही अवस्था थियो।

मलाई याद छ हामीले ४/५ वर्ष पहिला प्रिन्ट भएको किताब किनेर पढ्थ्यौँ किनकी हामीसँग नयाँ किताब सजिलै किन्न सक्ने आर्थिक अवस्था थिएन। अहिले पनि प्रायः सरकारी विद्यार्थीको आर्थिक अवस्था यस्तै नै होला।

जसलाई नयाँ किताब किन्न सहज आर्थिक अवस्था छैन उसले झोला कहाँबाट किनोस्? मलगायत साथीहरूको यही हालत थियो। सधैँ हातमा किताब बोकेर स्कुल जाने विद्यार्थीले झोला बोकेर स्कुल जाने सोच पनि थिएन त्यतिबेला। झोलाबिना विद्यार्थी नागरिकताबिनाको नागरिक सरह नै भयौँ बोर्डिङ स्कुलको लागि।

सुनौला भविष्यको खोजीको प्रथम पृष्ठभूमिमै झोलाको महत्त्व बुझ्न थालिसकेको थियो। प्रथम पृष्ठभूमिमा झोलाले आफ्नो महत्त्व देखाए पनि सरकारी स्कुलबाट एसएलसी उत्तीर्ण गर्ने बेलासम्म मैले झोला बोकिनँ। भनौँ झोलाको प्रभावबाट आफूलाई बचाइराख्न सफल भएँ। तर बाँकी मेरा साथीहरूले झोला बोक्न थालिसकेका थिए। उनीहरू झोला बोकेर ट्युसन जान्थे तर स्कुलमा चाहिँ बिना झोलाकै आउँथे।

एसएलसीपछि प्लस-टु पढ्ने बेलामा मेले एउटा गैरसरकारी क्यामपसमा पढ्न गएँ। यसपालि भने पहिला झोला किनेँ र त्यसपछि २/४ वटा कपि किनेर गएँ। यहाँ फेरि पनि गार्ड दाइले बाटो छेके।

मैले हल्का रिसाउँदै भनेँ- ‘दाइ, मसँग झोला छ। ड्रेस एक हप्तापछि किन्छु। किन रोक्नु भएको?’

दाइले मेरो झोला लिँदै भने- ‘झोला भएर मात्र कहाँ हुन्छ र? झोलामा पैसा लिएर आउनू। पहिले कलेजलाई पैसा तिर्नू अनि मात्र प्रवेश पाइन्छ। यो प्रिन्सिपल सरको निर्देशन हो।’

यो सुनेपछि मैले सोचेँ, ठिकै छ आज न भोलि त पैसा दिने नै छ बरु अहिले नै दिइहाल्छु। प्लस-टु सकेपछि स्नातक पढनको लागि काठमाडौं आएँ। दुई पटक पहिलो दिनमै निजी स्कुलमा छिर्नबाट रोकिएको म यसपालि काठमाडौंको कलेजको पहिले दिनमै भित्र छिर्ने पूर्व तयारीमा कलेजको फी तिरेँ, नयाँ ड्रेस र नयाँ झोला लिएर कलेज गएँ।

यसपालि गार्ड दाइले रोकेनन्। यो कुराले आफूलाई एउटा मिसन सफल भएको अनुभूति गर्दै भित्र छिरेँ। तर त्यो उत्साह पनि २/४ दिन मात्र रह्यो। २/४ दिनपछि फेरि झोलाले नयाँ काण्ड गर्दियो।

एउटा सिनियर दाइ मेरो झोलामा चार वटा तारा भएको स्टिकर टाँस्नुभएको रहेछ। यसले गर्दा त क्लासमा यस्तो स्टिकर नभएको अथवा फरक स्टिकर भएका साथी मसँग बोल्नै छोड्नुभयो। म पनि अलि बाठो भएर भएभरको स्टिकर टाँसेर अर्को दिन कलेज गएँ। यसले त झन् मलाई घर न घाटको बनायो।

त्यसपछि मैले फेरि अर्को झोला किनेर कलेज गएँ तर कसैलाई स्टिकर टाँस्न दिइनँ यसपालि। यसले गर्दा मेरो कलेज जीवन त सरल भयो तर जब कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आयो त्यसपछि फेरि मलाई यो झोलाले नयाँ तनाव दिन थाल्यो।

स्ववियु चुनावमा कुनै पनि संगठनको झोला नबोक्ने विद्यार्थीलाई कलेजमा बस्न सक्ने वातावरण थिएन। कुनै न कुनै स्टिकर भएको झोला बोक्नै पर्ने बाध्यता बन्यो। परिस्थितिसँग लड्न नसकेको मैले अन्ततः दुई हप्ता कलेज नजाने निधो गरेँ।

चुनाव सकेको भोलिपल्ट मात्र कलेज जाँदा थाहा पाएँ कि मजस्तै ५०% विद्यार्थी चुनावको दिन कलेज नगएका रहेछन्। सायद कुनै पनि संगठनले स्वतन्त्र विद्यार्थीको हकमा आवाज नउठाउने गरेकोले होला ५०% को अनुपस्थिति भएको।

चुनाव सकिएको केही दिनपछि हाम्रो पनि कलेज अध्ययन सकियो। अध्यन सकेपछि सबेले एउटै प्रश्न गर्न थाले- कहाँ काम गर्छौँ?

घर-परिवारदेखि आसेपासेले समेत जागिरको कहाँ कहिलेदेखि गर्ने भनेर सोधेर जीवनमा नयाँ तनाव सुरु भयो। मैले पनि प्रयास नगरेको होइन तर विज्ञापन गरेको सबै संस्थाले औपचारिकताको लागि मात्र गर्ने गरेको रहेछ। किनकि सबैले कसलाई जागिर दिने भने कुरा पहिला नै तय गरिसकेका हुन्थे।

मेरै नजिकको साथीले चाँडै जागिर पायो। मैले सोध्दा उसले भन्यो- अस्ति तिमीले कुनै संगठनको झोला बोकेनौ मैले बोकेँ, र हेर आज मैले जागिर पाएको छु।

मैले सोधेँ- कसरी पायौ पहिला त्यो भन अनि अरु कुरा गर्ने।

उसले भन्यो- सबै पार्टीको कार्यकर्ता भर्ती केन्द्र छ। सबै मन्त्रालयमा कार्यकरता भर्ती गर्नको लागि अस्थायी/करार दरबन्दी राखेको हुन्छ। म त्यही कोटामा छिरेको। तिमी पनि चाहन्छौ कि म पनि पास हुने बित्तिकै जागिर गरुँ भने मैले भनेको संगठनका लाग्नू अनि भइहाल्छ।

जागिरबिना एकदिन पनि बस्न नसक्ने अवस्थामा भएकोले मैले पनि अन्ततः एउटा संगठनमा लाग्न बाध्य भएर लागेँ।

केही समयपछि मैले पनि जागिर पाएँ तर जागिरभित्र झन् ठूलो कार्यकर्ताहरू रहेछन्। यहाँ त उच्च पदमा पुगेकाहरू झन् खुल्लमखुला रुपमा काम गर्दा रहेछन्। ठूला जनाधार भएको संगठनका लागेकाहरू त झन् पावर र पैसाको बलमा एकले अर्कालाई १/२ महिनामै फालिँदो रहेछ। यो प्रकृया त माथिल्लो पद सचिवदेखि तल्लो खरिदारसम्म हुदो रहेछ।

यसरी एक संगठनको विचारधारा बोकेको कर्मचारीले फरक संगठनको विचार धाराको कर्मचारीलाई खुल्लमखुला रुपमै सरूवा गराइदिने प्रवृत्तिले मलाई मेरो जागिर कहिले कसले उडाइदिने हो भने डर लाग्न थाल्यो।

मैले फरि आफ्नो साथीलाई आफ्नो डर सुनाएँ। उसले झोला बोकेर बेलाबेलामा ठूला–ठूला मान्छेलाई भेट्ने गर, कसैले केही गर्दैन भन्यो। अब मैले झोलामा के लिएर भेट्न जाने भन्ने कुरा बुझिसकेको थिएँ। तर घरको अवस्था कमजोर भएकोले मैले झोला लिएर नगएकै कारण होला आफू कार्यालयमा असुरक्षित भएको महसुस गर्न थालिसकेको थिएँ।

नयाँ आर्थिक वर्षमा मेरो जागिरको टुंगो नभएको थाहा पाएपछि मैले झोला लिएर आफ्नो घरतर्फ लागेँ। बाटोमा एकचोटि सोचेँ कि काठमाडौं गएर लोक सेवा तयारी गरुँ तर निजामतीभित्र पावर र पैसाले एकले अर्कालाई फालेको देखेर मेरो मनले मानेन।

त्यतिबेला धेरैले विदेश जाने भनेर मनस्थिति बनाइसकेकोले म पनि एकचोटि कन्सल्टेन्सीमा बुझ्न गएँ। बुझ्दा सबै कुराले मिले पनि पैसा चाहिँ मेरो क्षमताभन्दा निकै धेरै थियो। त्यसैले मेरो पनि विदेश पढ्न जाने सपना सपनामै रह्यो।

कुनै बेला सोचेँ व्यापार गरुँ तर यहाँ व्यापार गर्न मसँग न त पैसा छ, न स्वस्थकर प्रतिस्पर्धा गर्ने वतावरण नै। यति हुँदासम्म मेरो मनमा एउटा मात्र सजिलो विचार भनेको वैदेशिक रोजगारीमा मलेसिया जाने आयो। तर त्यहाँ जानलाई पनि म्यानपावरलाई झोलामा पैसा नदिई नहुने रहेछ।

मैले यसपालि झोलामा पैसा लगेर रोजगारीको लागि विदेश जाने निधो गरेँ। केही समय बितेपछि मेरो भिसा आयो र म मलेसिया जाने तयारीमा लागेँ। मैले आफ्नो सबै समानहरू झोलामा प्याक गरेर विदेश जान त्रिभुवन विमानस्थल तिर लागेँ।

त्यहाँ पुग्दा नेपालबाट झोला लिएर वैदेशिक रोजगारीमा गएकाहरू मध्ये कोही झोलामै प्याकिङ भएर फर्केको विचित्र दृश्य देखेँ।

मैले आफ्नो झोला तिर हेर्दै भनेँ- झोला, तिमी नै मेरो जीवनभरको साथी हो। विदेश जाने बेला र फर्किने बेला हामी साथ रहनेछौँ। हो, बरु परिस्थिति फरक हुनसक्छ। आज मैले तिमीलाई बोकेर लग्दैछु, फर्किने बेलामा तिमीले मलाई बोकेर ल्याउँछौ। तर पनि म र तिम्रो अब चिहानसम्मै साथ रहनेछ।

प्रतिक्रिया दिनुहोस्