तरकारीको गाडीमा २६२ किलो गाँजा फेला

२९ भदौ – विराटनगर, तरकारीको गाडीभित्र २६२ किलो ५८० ग्राम गाँजा फेला परेको छ । उक्त गाँजाको कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

 

इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्प छेउबाट शनिबार राति करिब ११स्३० बजेतिर २६२ किलो ५८० ग्राम गाँजा बरामद गरेको हो । आकस्मिक अपरेशनमा खटिएको प्रहरीले मे १ च ५८२६ नम्बरको बोलेरो गाडी रोक्न खोजेकोमा उत्तरतर्फबाट तीव्र गतिमा आउँदै गर्दा रोकेर चेकजाँच गर्न खोज्दा चालक गाडी लिएर फरार भए । नजिकै सडक किनारमै गाडी छाडेर चालक भागेका थिए । गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा माथिल्लो भागमा बन्दकोपीको बोरा देखिए पनि त्यस मुनि ठूलो परिमाणमा गाँजा लुकाएको पाइएको थियो ।


गाडी फेला परेको ठाउँबाटै दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ की २० वर्षीया सञ्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् । उनीहरुले प्रारम्भिक सोधपुछमा उक्त गाँजा विराटनगर–१८ का श्यामकुमार यादवको भएको खुलाएका थिए । त्यसपछि प्रहरीले आईसीपी रोड नजिकै पर्खिरहेका यादवलाई समेत पक्राउ गरेको हो । नियन्त्रणमा लिइएको गाडी, बरामद भएको गाँजा र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले फरार चालकको खोजी तीव्र पारिएको जनाएको छ ।

बरामद गाँजा कसरी एवं कहाँबाट संकलन गरेर कता लगिएको हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्