सत्तारूढ दलहरु मिलेर उपसभामुखलाई हटाउने तयारी

३ भदौ –  काठमाडौं, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी भई रहेको छ ।

 

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले ले यसका लागि मंगलबार आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बोलाई हस्ताक्षर संकलन सुरु गरेको छ ।

सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच छलफलपछि मंगलबारै प्रक्रिया अघि बढाइएको हो । उपसभामुखले अमेरिकी दूतावासमा पत्र पठाएर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेपछि विवादमा तानिएकी थिइन् ।

कांग्रेसले बिहानै बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्दै सांसदलाई दिउँसो २ बजेसम्म दल कार्यालयमा उपस्थित हुन भनेको छ। एमालेले पनि आकस्मिक संसदीय दल बैठक बोलाएको छ।

 

उपसभामुख हटाउन प्रतिनिधिसभामा कूल २७५ को दुई तिहाइ (१८४ मत) आवश्यक पर्छ। कांग्रेस (८८), एमाले (७८), जसपा (७), लोसपा (४) र जनमत (६) को मत जोड्दा दुई तिहाइ पुग्दैन। त्यसैले कांग्रेस–एमालेले नेकपा एकीकृत समाजवादीको सहयोग खोज्ने तयारी गरेको बुझिएको छ। यद्यपि, एकीकृत समाजवादीले के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको बुझिएको छ ।

 

तर, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले यसलाई सचेतपूर्वक प्रतिवाद गर्ने चेतावनी दिएको छ।

राना मगर रास्वपाबाट निर्वाचित सांसद हुन्। माओवादी, एमाले र रास्वपाको समर्थनमा उनी उपसभामुख बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्