तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु

२२ जेठ- कैलाली, कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । साथै उक्त घटनामा अन्य दुई जना घाइते भएका छन्।

सवा चार बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ को भालुफटामा से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्र्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो।

यस्तै, मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन्। मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको डीएसपी सिंहले बताए। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। पछाडि सवार घोडाघोडीकै २२ वर्षीय अर्जुन चौधरी पनि घाइते छन्। उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्