चीनमा अन्धाधुन्ध छुरा प्रहार हुँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु

आसार २५ -काठमाडौँ — चीनको एक किन्डरगार्टनमा अन्धाधुन्ध छुरा प्रहार हुँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी प्रान्त गुआङडोङको एक किन्डरगार्टनमा भएको उक्त घटनापछि प्रहरीले २५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

बालबालिका बाहेक मारिने अन्य व्यक्तिमा एक शिक्षक र दुई अभिभावक रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सो आक्रमणको घटना स्थानीय समयअनुसार बिहानीपख भएको जनाइएको छ । प्रहरीले आधा घन्टामै आक्रमणकारीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ती व्यक्तिले जानीबुझी छुरा प्रहार गरेको जनाएको छ । सो क्षेत्रका एक पसलेले पूरै क्षेत्र सिल गरिएको जनाएका छन् ।

चिनियाँ सामाजिक सञ्जालहरुमा घटनाको विषयमा व्यापक बहस भएको बीबीसीले जनाएको छ । चीनमा पछिल्लो वर्ष हिंसात्मक घटनाहरुमा वृद्धि भए पनि यस्ता घटनाहरु दुर्लभ नै मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्