ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

२७ भदौ -बझाङ, ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सवार चार जना घाइते भएका छन् । घटना तल्कोट गाउँपालिकामा शुक्रबार बिहान भएको हो ।

बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु=प=प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

दुर्घटनामा तल्कोट गाउँपालिका – ४, उपरकोटका विकास सिंहको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी तल्कोट-४ का ३० वर्षीय खगेन्द्र खत्री, सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्ल घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्