टीकापुरमा आतङ्क मच्चाउने चितुवालाई नियन्त्रणमा लिइयो

१९ भदौ- टीकापुर, राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधवार नियन्त्रणमा लिइएको छ। चितुवाले टीकापुर बहुप्राविधिक शिक्षालयमा आतङ्क मच्चाइ रहेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो। चितुवाले भदौ १ गते शिक्षालयभित्र पसेर बाख्रा र भदौ ३ गते कुकर खाएपछि नियन्त्रणमा लिन वन कार्यालयमार्फत बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग मागिएको थियो। निकुञ्जले भदौ ४ गते राखेको ट्रयापमा बुधबार बिहान २ बजेतिर भाले चितुवा थुनिएर नियन्त्रणमा आएको हो।


नियन्त्रणमा आएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बुधबार बेलुका निकुञ्जतिर लगेको छ । टीकापुर प्राविधिक शिक्षालय टीकापुर पार्कलगायत कर्णाली किनारमा सामुदायिक वनसँग जोडिएको छ। लामो समयदेखि शिक्षालय आसपासमा चितुवा देखिदा त्रसित भएका त्यहाँका शिक्षालयका विद्यार्थी तथा प्रशिक्षकहरुको त्रास हटेको छ। २०८१ सालको साउनमा पनि चितुवाले टीकापुरको राजीपुर, सत्तीलगायतका क्षेत्रमा राति गाउँमा पसेर बाख्रा मार्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्