१८ भदौ – त्रिशूली, चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । घटना तादी गाउँपालिका-२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा भएको हो ।
विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको हो। खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरूले तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो । उनलाई खोलाले बगाएर करिब १०० मिटर तल पुर्याएको थियो ।
उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई जना बालिका र एक जना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन् । घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्