१६ भदौ -विराटनगर, नेकपा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य महेश चौधरीसहित एक समूहले हातखुट्टा भाँचिने गरी एक युवकलाई निर्घात कुटपिट गरेका छन् । इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय युवा राज कटुवालको कुटपिट भएको हो ।
भदौ ७ गते राति इटहरी–७ बजराहामा चौधरीले कटुवाललाई मरणासन्न हुने गरी कुटेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीले पाँच दिनपछि मात्रै पीडित परिवारको जाहेरी दर्ता गरेको छ । तर एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूको संरक्षण रहेको कारणले प्रहरीले अझै सम्मपनि पक्राउ गर्न नसकेको भन्दै विरोध भइरहेको छ ।
३५ वर्षीय चौधरी र उनका साथी २९ वर्षीय शिव चौधरीसहित १० देखि १५ जनाको हतियारधारी समूह कटुवालको घरमा पुगेका थिए । राजका बाबु टेकबहादुर कटुवालका अनुसार सुरुमा महेश एक्लै कटुवालको घरमा पुगेका थिए । गाउँकै चिनजानको व्यक्ति भएकाले राजकी आमा सीताले ढोका खोलिदिएकी थिइन् । तर ढोका खुल्नासाथ महेश र शिवसहितका अन्य व्यक्तिहरू भित्र पसी राजमाथि रडले अन्धाधुन्ध प्रहार गरेको टेकबहादुरले बताएका छन ।
घाइते राज भने त्यतिबेलै बेहोस बनेका थिए । निर्घात कुटपिट गरेपछि पनि आक्रमणकारीहरूले राजलाई उपचारका लागि लैजाने क्रममा सडकमा मोटरसाइकल तेर्स्याएर एम्बुलेन्स तथा गाडी लैजान अवरोध सिर्जना गरेका परिवारको आरोप छ ।
इलाका प्रहरी कार्यालय इटहरीमा खबर गर्दा प्रहरी पनि ढिलो गरी पुगेको पीडित परिवारले आरोप लगाएको छ । अन्ततः पीडित परिवारले राजलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका छन् ।
आक्रमणमा परेर राज कटुवालको देब्रे खुट्टा र देब्रे हात भाँचिएको छ । उनको खुट्टाको अप्रेसन भदौ १० गते भएको छ भने हातको अप्रेसन हुन बाँकी नै रहेको बाबु टेकबहादुरले बताए । चिकित्सकहरूले पनि खुट्टाको अप्रेसनपछि हातको अप्रेसन गर्न सुझाव दिएका छन् । हाल राज राम्रोसँग बोल्न सकेका छैनन् र हिँडडुल गर्न पनि सक्दैनन्, यद्यपि उनको होस भने आएको छ । उनको पूर्ण स्वास्थ्य लाभ कहिले हुन्छ भन्ने अझै निश्चित नभएको परिवारले जनाएको छ ।
यो जघन्य अपराध भएको पाँच दिनपछि मात्रै इलाका प्रहरी कार्यालय इटहरीले पीडितको जाहेरी दर्ता गरेको छ । पीडित परिवारले एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूले संरक्षण दिएको आरोप लगाएका छन् । आक्रमणलगत्तै आक्रमणकारी महेश चौधरी र शिव चौधरीसहितको समूहविरुद्ध जाहेरी दिन घाइते राजकी माइली दिदी राधिका कटुवाल र भिनाजु मौसम पाठक इलाका प्रहरी कार्यालय इटहरी पुगेका थिए । तर, प्रहरीले त्यसदिन जाहेरी दर्ता गर्न मानेन ।
इलाका प्रहरी कार्यालय इटहरीले घटनाको पाँच दिनपछि शिव चौधरीलाई भने पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई पाँच दिनका लागि ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
सुनसरी प्रहरीले महेशको खोजी कार्य तीव्र बनाएको बताए पनि पीडित परिवारका अनुसार महेश गाउँघरमै लुकिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्