सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

१६ भदौ – काठमाडौं, वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी र काठमाडौं महानगरपालिका-१६ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन् ।

पक्राउ मध्ये कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्