विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २० जना पक्राउ

१५ भदौ – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३८ किलो ८ सय ग्राम सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सबिन तामाङ, दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय सागर तामाङ, मकवानपुर राक्सिराङ गाउँपालिका-१ गडवाल बस्ने ३० वर्षीय प्रेमराज मोक्तान र सोही ठाउँ बस्ने २ जना किशोर रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा समेतबाट खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ६५४९ नम्बरको ईभि गाडीबाट १ सय १२ किलो ७ सय ९० ग्राम गाँजा फेला पारी चालक सुदिप तथा गाडीमा सवार सबिन र सागरलाई पक्राउ गरेको हो । साथै बा.प्र.०६-००१ ज ०५०३ नम्बरको ईभि गाडीबाट २६ किलो १० ग्राम गाँजा फेला पारी गाडीमा सवार प्रेमराज र २ जना किशोरलाई पक्राउ गरेको हो ।

 बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ८० ट्याब्लेट सहित जुम्ला सिंजा गाउँपालिका-७ बस्ने २५ वर्षीय नबिन तिवारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, विरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम, नगद ५ हजार रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २८ वर्षीय निरज बाबु राई, २४ वर्षीय विशाल राई र २१ वर्षीय अनोज थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भे.३ प ४८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहा, भगवानपुर गाउँपालिका-१ भगवानपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुबनी लौकही पञ्चायत झौहरी ग्राम घोवयाही-१ बस्ने २४ वर्षीय मो. मिस्टर, २३ वर्षीय मोहमद मुस्तफा, भारत बिहार मधुबनी खुटौना पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि बस्ने ३८ वर्षीय अख्तर हुसेन र सप्तरी खडक नगरपालिका-६ बस्ने ४२ वर्षीय आविद हुसेन रहेका छन् । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बिआर ३२ एएक्स १४८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित  बाँसगढी नगरपालिका-५ बस्ने २९ वर्षीय सुबाश वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ५० मिलिग्राम सहित मोरङ बेलबारी नगरपालिका-४ बस्ने ४० वर्षीय इन्द्र बहादुर गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा.४६ प ८४०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारी बस्ने ३८ वर्षीय किरण राजवंशीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनले संचालन गरेको दिवाकर फर्ममा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ५३ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० बस्ने २२ वर्षीय नितेश पनेरू, भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय प्रदिप नाथ र ३१ वर्षीय पारस शाह रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०३ सि ३८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्