९ भदौ- विराटनगर, दुईजना भारतीय नागरिकलाई विराटनगरबाट १ सय ४७ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित प्रहरीले पक्राउ गरेको छ ।
बरामद भएको ब्राउन सुगर ठूलो परिमाणको रहेको प्रहरीको भनाई रहेको छ । नेपालमा खैरो हेरोइन ‘सप्लाई’गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई आइतबार साँझ पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा गफगाफ गरिरहेका बेला दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।
चेकजाँचका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।
हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । नेपालमा लागुऔषध ‘सप्लाइ’ गर्न आएका उनीहरूमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्