पार्टीको एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने सङ्कल्प माओवादीले गर्यो

२० साउन- काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि चलेको स्थायी समिति बैठकले विभिन्न निर्णय र प्रस्ताव पारित गर्दै गुटबन्दी अन्त्य भएको घोषणा गरेको छ । पार्टीले एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने सङ्कल्प गरेको छ ।

सोमबार सम्पन्न बैठकपछि प्रतिक्रिया दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दी तथा समूहको अन्त्य गरी एकताबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको बताए। “लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेलेको हाम्रो पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो । यो जिम्मेवारी पूरा गरेका छौँ ।” ‘प्रचण्डले भने

उनले पार्टीले सामूहिक प्रतिबद्धतासाथ गुटबन्दी अन्त्य गरी एकताको सन्देश दिएको बताए। फेरि एक पटक जनताबिच जाने सङ्कल्प गरेको र देशमा देखिएका समस्या समाधान गर्न जनमुखी आन्दोलन तीव्र बनाउने निर्णय भएको बताए । अध्यक्ष प्रचण्डले बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै देशका समसामयिक चुनौती सम्बोधन गर्न नयाँ नीति तय गरेको बताए ।

 

माओवादीले रोकिएको जनअभियान भदौ १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समिति बैठक दसैँपछि बस्ने र विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग एकता गर्नेबारे पनि बैठकमा सहमति भएको छ । बैठकमा उपमहासचिव जनार्दन शर्माले माइनुटमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए पनि आत्मालोचना भने नगरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

सहकारी ठगीमा संलग्नलाई कारबाही र पीडितको रकम फिर्ता गर्न र भोटेकोशी, त्रिशूली बाढीपीडितलाई राहत, घाइतेको निःशुल्क उपचार र पुनर्निर्माण माग गरिएको छ । शान्ति प्रक्रियाका बाँकी काम तीव्रतासाथ अगाडि बढाउन सरकारसँग माग गरिएको छ । मलखाद अभाव, बिचौलियाको प्रभाव र भ्रष्टाचारको भत्र्सना गर्दै मल, बिउ र समर्थन मूल्य सुनिश्चित गर्न माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्