करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ८ जनाको एक गिरोहलाई पक्राउ गर्यो

६ साउन-सुर्खेत, करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । ‎

ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक तथा कर्मचारी गरी आठ जनालाई पक्राउ परेका छन ।

 

‎पक्राउ पर्नेमा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, व्यवस्थापक तथा कर्मचारीहरू दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रबिन्द्र शाही रहेका छन् ।

‎त्यस्तै, कर्मचारीहरू दोधाराचाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमाला पनि पक्राउ परेका छन ।

वीरेन्द्रनगर नगरपालिका –३, मुलपानी चोकमा कार्यालय स्थापना गरी उक्त गिरोहले विभिन्न जिल्लाका युवायुवतीलाई ठगीको सिकार बनाएको थियो ।

‎प्रहरीका अनुसार, कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभनमा पारेका थिए ।

‎ पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो ।

‎यसरी स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिले पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

‎यसअघि पोखरा, बर्दिया र टीकापुर लगायतका स्थानमा पनि यस कम्पनीले आकर्षक तलबको लोभ देखाएर युवाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्