ज्वाईद्धारा ससुराली तर्फको सामूहिक हत्या

२२ असार – भोजपुर, रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एक परिवारको सामुहिक हत्या भएको छ । उक्त परिवारमा चार जनाको हत्या भएको छ।

गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

घटनापश्चात राई आफैँले आज बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए । राईको पनि पेटमा गहिरो चोट लागेको छ ।

 

जिल्ला अस्पतालमा उपचारपश्चात थप उपचारका लागि उनलाई बाहिर रेफर गरिएको छ । प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाइरहेको छ ।

राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएका थिए । घरायसी विवादका कारण घटना भएको हुनसक्ने आसंका गरिएको छ ।

राजेन्द्रले गत वर्ष मात्र मनिषालाई भगाएर बिहे गरेका थिए । तर, बिहेको केही महिनादेखि नै परिवारले हेला गर्न थालेपछि मनिषा माइती फर्किएकी थिइन् ।

एक स्थानीयकाअनुसार एक हप्ताअघि राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। कुराकानीको क्रममा मनिषा घर फर्किन नमानेको र ससुरा, सासूले पनि आफ्नी छोरीलाई फर्काउन नमानेपछि उनीहरुबीच विवाद भएको थियो । त्यसक्रममा राजेन्द्रले सबैको हत्या गरेको प्रहरीको भनाई छ।

घटनास्थलमा प्रहरीको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्