१९ असार- काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्।
स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो। तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन। बरु १०–१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु।’ ओलीले भने
कांग्रेस र एमालेबीचको गठबन्धन ०८४ सालको निर्वाचनसम्मै कायम रहने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।
त्यस क्रममा ओलीले युरोपमा स्थायी र अस्थायी रूपमा बसिरहेका नेपालीलाई शुभकामना दिए। युरोपमा कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव समेत दिएका छन्।
प्रधानमन्त्री ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन्।
प्रतिक्रिया दिनुहोस्