एआइ संकेतिक तस्विर
१७ असार- भक्तपुर, सूर्यविनायकमा सञ्चालित सुमार्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ९ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भएको छ ।
सहकारीका बचतकर्ता विष्णुहरि रञ्जितकारसहित ६५ जनाले जाहेरी दिएपछि लामो अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले गत शुक्रबार जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो ।
सहकारीका अध्यक्ष गणेशबहादुर कार्की, उपाध्यक्ष मीनबहादुर कार्की, सचिव कृष्णबहादुर कार्की, सञ्चालक समिति सदस्य दीपक न्यौपाने, पूर्व अध्यक्ष ध्रुवबहादुर सिलवाल, लेखा संयोजक रविना ख्याजु, लेखा समिति सदस्य मिलन सिलवाल र विकास कोजुगरी ९ जनालाई प्रतिवादी बनाइ अभियोगपत्र दर्ता गरिएको छ । प्रतिवादीहरूबाट ५ करोड ५५ लाख ७३ हजार ८ सय ४० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
बचतकर्तामध्येका सूर्यविनायकका बालकृष्ण शाहीले आफू र परिवारले उक्त सहकारीले आकर्षक ब्याज दिने प्रलोभन देखाएर सहकारीमा रकम जम्मा गरेको तर, पटक–पटक बचत फिर्ताको माग गर्दा नदिएपछि प्रहरीमा जाहेरी दिएको अभियोगपत्रमा बताइएको छ । उक्त सहकारीमा उनिहरुको एक करोड ८३ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ जम्मा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्