घरको छानो खस्दा एक वृद्धको मृत्य

९ असार- कपिलवस्तु, विजयनगर गाउँपालिका –३, जगदीशपुरमा घरको छानो खस्दा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुने ६० वर्षीय दुर्गाप्रसाद काफ्ले रहेका छन् ।

आइतबार राति परेको अविरल वर्षाले काफ्ले बस्दै आएको कच्ची घरको धुरी र खाँबो कमजोर भई भत्किँदा छानो खसेको हो ।

छोरा वैदेशिक रोजगारीमा रहेका कारण काफ्ले घरमा एक्लै बस्दै आएका थिए । घरभित्र सुतिरहेको बेला अचानक छानो खस्दा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काफ्लेको शवलाई पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्