हट एयर बेलुन दुर्घटनामा आठ जनाको मृत्यु

८ असार- दक्षिणी ब्राजिल, हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

२१ जना सवार बेलुन शनिबार बिहान प्राइया ग्रान्डे सहरमा दुर्घटनामा परेको थियो । पाइलट समेत अरू १३ जना भने बाँच्न सफल भएका छन ।

हट एयर बेलुन र यसका क्रुको अवस्थाबारे छानबिन गर्न आवश्यक सबै कदम चालिने ब्राजिलको राष्ट्रिय नागरिक उड्डयन एजेन्सी (अनाक)ले बताएको छ ।

पाइलटले बताए अनुशार बक्साभित्रबाट आगो बल्न सुरू भएपछि उनले बेलुनलाई तलतिर झार्दै थिए । बेलुन जमिनको निकै नजिक पुग्दा ती पाइलटले मानिसहरूलाई बेलुनबाट हामफाल्न भनेका थिए । सोही अनुसार केहीले हामफाले भने कतिपयले हाम फाल्न सकेनन् ।

त्यति नै बेला आगो दन्किन थाल्यो । तौलको कारण बेलुन फेरि माथितिर गयो । सस्पेन्सन नहुँदा पछि बेलुन भुँइमा खस्यो ।

मृत्यु हुनेमा दुई दम्पती, एक जना आमा र छोरी, एक जना नेत्र रोग विशेषज्ञ र चर्चित स्केटर थिए । जीवितहरूलाई तत्कालै नजिकको अस्पतालमा लगिएको थियो । बेलुन टूर गराउने कम्पनीको गतिविधि अनिश्चित समयको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्