२० जेठ- काठमाडौं, यातायात व्यवसायीहरुले आजपनि यातायात बन्द गरे पछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानून मार्फत व्यवस्थित गर्ने सहमति भए पनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका छन।
यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको मन्त्रीले स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनले बताए । सरकारसँग आफ्ना कुराहरू राख्दै जिम्मेवार भएर अघि बढ्न यातायात व्यवसायीलाई मन्त्री दाहालले आग्रह समेत गरे ।
बैठकमा समिति सदस्यहरूले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरी कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमति सिण्डिकेटलाई व्यक्ताउने गरी भएको भन्दै आपत्ति जनाएका छन । राइड सेयरिङका विषयमा गण्डकी प्रदेशले गरेको निर्णय सही भएकाले यसलाई अन्य प्रदेशमा पनि अवलम्बन गर्नुपर्ने उनले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्