ग्यास सिलिन्डरबाट ग्यास लिक हुँदा दाजु-बहिनीको मृत्यु

१२ जेठ- कपिलवस्तु, ग्यास सिलिन्डरबाट खाना पकाउने क्रममा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु भएको छ।

कपिलवस्तुको सुद्धोधन गाउँपालिका-५, जयनगरमा आइतबार साँझ घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको हो।

घरनजिकै गोठमा ग्यास लिक भएर आगो लाग्दा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतक सोनम राष्ट्रिय उच्च मावि मुरफुटवा कक्षा १० मा अध्ययनरत थिइन्। उनको मृत्युपछि विद्यालयले सोमबार शोक बिदा गरेको छ। दुवैको शव भीम अस्पताल भैरहवामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्