८ जेठ- काठमाडौं, जापानका विदेशमन्त्री इवाया ताकेसी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बीच द्विपक्षीय भेटवार्ता आज भएको छ । बिहीबार टोकियो टोकियोस्थित विदेश मन्त्रालयमा उनीहरुबीच भेट भएको हो ।
त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद दिएकी छन् ।
त्यस्तै उनीहरुका बीचमा नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा पनि कुराकानी भएको थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं बार्षिकोत्सव मनाउँदै छन् ।
उक्त भेटमा मन्त्री डा. राणाले आगामी बर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं बार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइन् ।
अध्ययन एवं अवलोकनका लागि नेपालमा वर्षेनी हजारौँ जापानी पर्यटक आउने गरेका भन्दै मन्त्री डा राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्