आजबाट नयाँ वर्ष २०८१ सुरु

वैशाख १- नतराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरू खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा व्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरूका लागि विशेष रौनक रहन्छ । तराईमा कहीँ–कतै पाकेका गहुँहरू त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरू भित्राई सकियो कि बाँकी छ ?

पहाडका खेतका गराहरूमा छरिएका मकैहरू चराहरूले नखाउन् भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्छ । चराहरूले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरू, अनि त सहरमा तपाई मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिँदै पप–कर्न र चीसोको मज्जा लिन पाउनुहुनेछ । टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।

पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने गरिन्छ । वैशाखका सुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ । अनि यी सुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिइन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबैतिर नयाँ वर्षको शुभकामना छाएका छन् ।

के मधेसी, के पहाडी, के हिमाली, के शूद्र, के ब्राह्मण, के जनजाति ? सबैलाई एकताको सूत्रमा बाँध्न सक्ने नेपाल आमाको यो आँगन झन् रङ्गिन अनि बलियो बनाउन सक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सिमाना सुरक्षित बनाउनु छ । सबै नेपाली जनमा हामी एक थियौँ, छौँ र अनन्त एक भई रहिरहनेछौंः

संसारैभरि यो वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन् र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०८१ को मङ्गलमय शुभकामना !

-‘हाम्रो पात्रो’

प्रतिक्रिया दिनुहोस्