सन्दीप लामिछाने अब हुने खेलमा भाग नलिने, लिए राष्ट्रिय टोलीबाट नाम फिर्ता

असोज २६- पूर्वकप्तान सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको जानकारी दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । जसका खेलहरू १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।

 

यससँगै सन्दीपले यो त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् ।

भारी मनका साथ टोलीबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।

साथै, सन्दीपले अहिलेसम्मको माया र समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् । ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले लेखेका छन् ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । यो मुद्दा अदालतमा विचाराधीन छ । पटक–पटक पेशी स्थगित हुँदा सन्दीपले दुःखी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्