भूकम्प पीडितलाई तत्काल प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

असोज १९-बझाङ, प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रधानमन्त्री दाहालले सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल लगायत क्षति पुगेका संरचनाहरूको क्षति मापन गरी यथाशीघ्र पुनः निर्माण गर्ने बताए। नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने बताए। उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर यस्तो बताएका हुन्।

प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए। पीडितका समस्या सुनेपछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताए। प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी पनि सहभागी छन्। बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ।

प्रतिक्रिया दिनुहोस्